असार २४ गतेको विनाशकारी बाढीपछिको अर्को आकस्मिक बाढीले रसुवाको भोटेकोशी गाउँपालिका–२ मा गएराति थप क्षति पुर्याएको छ। मानवीय क्षति नभए पनि भौतिक संरचनामा उल्लेखनीय क्षति पुगेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो।
बाढीका कारण रसुवागढी–स्याफ्रुबेशी सडक पुनः अवरुद्ध भएको छ। यसका साथै रसुवागढी भन्सारको यार्ड, रसुवागढी जलविद्युत् आयोजना, र त्रिशूली–थ्री ‘ए’ जलविद्युत् आयोजना समेत प्रभावित भएका छन्।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार बाढीले टिमुरे र रसुवागढीको बीचमा रहेको नेपाली सेनाको क्याम्पमा समेत क्षति पुर्याएको छ। स्याफ्रुबेशी क्षेत्रमा ४ वटा टहरा पूर्णरूपमा नष्ट भएका छन् भने विभिन्न स्थानका पुलहरूमा पनि क्षति पुगेको छ।
हाल क्षतिको विस्तृत विवरण सङ्कलनको कार्य जारी रहेको बताइएको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायले राहत र पुनःस्थापनाको तयारी थालेका छन्।