English Date:
नेपाली समय लोड गर्दै...
aawajnews@gmail.com
‘स्तनपानलाई प्राथमिकता दिऔँ, सहयोगी वातावरण निर्माण गरौँ’ नाराका साथ नेपालमा स्तनपान सप्ताह सुरु
Admin
प्रकाशित:
२०८२ श्रावण १६

‘स्तनपानलाई प्राथमिकता दिऔँ, सहयोगी वातावरण निर्माण गरौँ’ भन्ने नाराका साथ आजदेखि नेपालमा पनि स्तनपान सप्ताह मनाउन थालिएको छ। हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म विश्वभर मनाइने यो सप्ताह सन् १९९२ देखि प्रारम्भ गरिएको हो। यसको उद्देश्य स्तनपानलाई शिशु तथा मातृ स्वास्थ्यसँगै राष्ट्रिय उत्पादकत्वसँग जोड्नु हो।

स्वास्थ्यकर्मीहरूका अनुसार स्तनपान शिशुका लागि पहिलो खोप मानिन्छ। यसले कुपोषण तथा नवजात शिशु मृत्युदर घटाउनेमा अत्यन्तै प्रभावकारी भूमिका खेल्दछ। विभिन्न अध्ययनहरूले देखाएको छ कि जन्मपछिको पहिलो घण्टाभित्र स्तनपान गराउँदा नवजात मृत्युको जोखिम २२ प्रतिशतले घट्छ भने एक दिन ढिलो गर्दा यो मृत्युदर २.४ प्रतिशतले बढ्न सक्छ।

विशेषज्ञहरूका अनुसार शिशुलाई ६ महिनासम्म केवल आमाको दूध खुवाइएमा र त्यसपछि पूरक आहार सुरु गरिएमा बाल मृत्युदरमा करिब २० प्रतिशतको कमी ल्याउन सकिन्छ। तर पछिल्लो समय नेपालमा स्तनपान गर्ने दरमा गिरावट आएको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार बोतलबाट दूध खुवाउनेको संख्या १३ प्रतिशतबाट बढेर २२ प्रतिशत पुगेको छ, जुन नवजात शिशुको स्वास्थ्यका लागि चिन्ताजनक विषय हो। महिलाको शारीरिक बनावट बिग्रने डर, कृत्रिम दूध सजिलै उपलब्ध हुनु, स्तनपान मात्र पर्याप्त हुँदैन भन्ने भ्रम, र समाजमा देखासिकी प्रवृत्तिका कारण बोतलबाट दूध खुवाउनेको संख्या बढिरहेको देखिन्छ।

स्वास्थ्य विशेषज्ञहरू भन्छन्, “स्तनपान नगर्दा शिशुमा झाडापखाला, श्वासप्रश्वास र मोटोपनजस्ता समस्या देखिन सक्छ भने आमामा स्तन तथा अण्डाशयको क्यान्सर, टाइप टु मधुमेह र मृत्युको जोखिम समेत बढ्छ।”

एक चम्चा आमाको दूधमा करिब ३० लाख जीवाणु नष्ट गर्ने कोशिकाहरू पाइन्छन्, जुन कृत्रिम दूधमा हुँदैन। आमाको दूध शिशुको सुरक्षा, पोषण र मानसिक विकासका लागि अत्यावश्यक प्राकृतिक तत्त्वहरूले भरिपूर्ण हुन्छ।

सरकार र विभिन्न संघसंस्थाहरूले स्तनपानप्रति सचेतना फैलाउने र आमाहरूका लागि सहयोगी वातावरण निर्माण गर्ने उद्देश्यले देशभर विविध कार्यक्रमहरू आयोजना गर्दैछन्।

सम्बन्धित समाचार