English Date:
नेपाली समय लोड गर्दै...
aawajnews@gmail.com
गाजा युद्धविराम वार्ताबाट हमास अलग, मानवीय सहायता सुनिश्चित नभएसम्म वार्तामा नआउने घोषणा
Admin
प्रकाशित:
२०८२ श्रावण १६

गाजा युद्धविराम वार्ता प्रक्रियाबाट हमास पूर्ण रूपमा अलग भएको छ। अमेरिकी समाचार संस्था सीएनएनका अनुसार, हमासले गाजामा पर्याप्त मानवीय सहायता आपूर्ति सुनिश्चित नभएसम्म वार्तामा सहभागी नहुने स्पष्ट पारेको छ।

गाजामा खाद्य अभावका कारण नागरिकहरू भोकमरीको चपेटामा परिरहेका छन्। सहायता वितरण केन्द्रहरूमा इजरायली गोलीबारी भइरहेका समाचारहरू आइरहेका बेला हमासको यस्तो निर्णय सार्वजनिक भएको हो।

यसैबीच, अमेरिका र इजरायलले हमासमाथि खराब नियतसहित वार्तामा उत्रिएको आरोप लगाएका छन्। गएको हप्ता कतारमा सम्पन्न वार्ताबाट दुबै देशले आफ्ना प्रतिनिधिमण्डल फिर्ता बोलाएका थिए। त्यसपछि दुबै देशले गाजासम्बन्धी रणनीतिमा पुनर्विचार गर्न थालेका छन्।

यही क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकोफले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग हिजो भेटवार्ता गरेका छन्। विटकोफले आज अमेरिकी राजदूत माइक हक्काबीसँग गाजा भ्रमण गर्ने र अमेरिका तथा इजरायल समर्थित मानवीय सहायता केन्द्रहरूको निरीक्षण गर्ने कार्यक्रम तय भएको समाचारमा जनाइएको छ।

मानवीय संकटको गम्भीर अवस्थाबीच वार्ता प्रक्रिया भङ्ग हुनु गाजाको अवस्था झन जटिल बनाउने संकेत देखिएको विश्लेषकहरूको धारणा छ।

सम्बन्धित समाचार