साउन महिनाको अन्तिम सोमवारको अवसरमा आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनहरूको ठूलो भीड लागेको छ।
साउनको सोमवार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकामना पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास रहेको छ। यही विश्वासका साथ बिहानैदेखि भक्तजनहरू भजन–कीर्तन, नाचगान र शिवपूजामा सहभागी भएका छन्।
साउनको पहिलो सोमवारदेखि निरन्तर व्रत राखी शिवको आराधना गर्दै आएका भक्तजनहरूले आज गोदान, पूर्णपात्रलगायत धार्मिक अनुष्ठान गर्दै व्रत समापन गरेका छन्।