नेपालमा क्यान्सर, मुटु तथा श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगको समस्या तीव्र रूपमा बढ्दो छ। नेपाल एनसीडी एलाइन्सका अनुसार हरेक वर्ष देशभरि नसर्ने रोगबाट पीडितको संख्या बढिरहेको छ।
एलाइन्सकी डा. मनिता प्याकुरेलका अनुसार सबैभन्दा बढी देखिने नसर्ने रोगहरूमा मुटु रोग ३० प्रतिशत, दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोग १० प्रतिशत र क्यान्सर ९ प्रतिशत रहेको छ।
सन् २०१० मा नेपालमा कुल मृत्युमध्ये ५१ प्रतिशत नसर्ने रोगबाट हुने गर्थ्यो भने सन् २०१४ मा यो दर ६० प्रतिशतमा पुगेको थियो। ग्लोबल बर्डेन अफ डिजिजको सन् २०१९ को प्रतिवेदनअनुसार कुल मृत्युमध्ये ७१.१ प्रतिशतको कारण नसर्ने रोग नै रहेका छन्।
डा. प्याकुरेलका अनुसार नसर्ने रोगको उपचार खर्चिलो मात्र होइन, दीर्घकालीन असर पार्ने पनि भएकाले रोकथाममा ध्यान दिनु अत्यावश्यक छ। यस्ता रोगहरू मुख्यतः सुर्तीजन्य वस्तुको सेवन, अस्वस्थ जीवनशैली, शारीरिक निष्क्रियता, जाँडरक्सीको प्रयोग र वायु प्रदूषणका कारण बढ्ने गरेका छन्।