English Date:
नेपाली समय लोड गर्दै...
aawajnews@gmail.com
बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता इन्द्रबहादुर बानियाँले दाबी पेश
Admin
प्रकाशित:
२०८२ श्रावण १९

बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया तीव्र रूपमा अगाडि बढिरहेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री बन्ने दाबी पेश गर्नुभएको छ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा ६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्रीको नियुक्तिका लागि बिहीबार दिउँसो २ बजेसम्मको समय सीमा तोकेर दाबी आह्वान गर्नुभएको थियो। सो आह्वान जारी भएको केही घण्टामै बानियाँले आवश्यक समर्थनसहित आफ्नो दाबी दर्ता गराउनुभएको हो।

धारा ६८(२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यले मुख्यमन्त्री पदका लागि दाबी गर्न सक्ने संवैधानिक प्रावधान छ।

यसअघि कांग्रेसका नेता बहादुरसिंह लामाले हिजोदेखि लागू हुने गरी मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। पार्टी संसदीय दलको नेतामा बानियाँ विजयी भएपछि सभापति शेरबहादुर देउवाको निर्देशनमा लामाले पदत्याग गर्नुभएको हो।

अब बानियाँ मुख्यमन्त्रीमा नियुक्त हुने सम्भावना बलियो देखिएको छ, यद्यपि प्रदेश प्रमुखको औपचारिक निर्णय आउन बाँकी छ।